ललितपुर - महानगरपालिका वडा नं १५ सातदोबाटोस्थित सञ्चालनमा ल्याइएको ज्योति विकास बैंकको नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री देव कुमार ढकाल ज्यूको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार ज्ञवाली समेतले सम्बोधन गर्नु भएको थियो।
उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री देव कुमार ढकालले ज्योति विकास बैंकले राष्ट्र बैंकको नियमको अधिनमा रहि शाखा विस्तार तथा बैंकिङ्ग पहुँचमा दिएको योगदान उल्लेखनीय रहेको बताउनु भयो। साथै उहाँले बैंकिङ्ग क्षेत्रमा आउन सक्ने जोखिमलाई व्यवस्थित गर्दै बैंकिङ्ग सेवालाई अझ सुमधुर बनाउँदै राष्ट्रिय स्तरमा आम जनतालाई थप सहजता प्रदान गर्न आग्रह पनि गर्नुभयो।
कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले विगतका दिनमाझैं ज्योति विकास बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र र समाजको हरेक आयाममा बैंकिङ्ग सेवामार्फत योगदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त्त गर्नुभयो।
यसका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार ज्ञवालीले पनि नयाँ शाखा मार्फत बैंकिङ्ग सेवा थप विस्तार भएको र जनतालाई बैंकको पहुंच अझ सहज भएको बताउनुभयो। साथै उहांले ज्योति विकास बैंकको पूँजी संरचनाले पनि बैंकको जोखिमलाई न्युनिकरण गर्दै सुमधुर रुपमा सेवा प्रदान गर्ने अवस्थामा पुर्याएको कुरामा पनि जोड दिनुभयो ।
हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ATM मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. ३० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु. २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।